२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने



अ+ अ-

चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।

यही पुस ११ गतेदेखि सुरू हुने १८औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया सुरू हुनेछ । अहिले यो प्रक्रिया सुरू गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ ।

महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटवल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिनुभयो । यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

यस्तै पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रमम गरिनेछ । यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराईने आयोजकले जनाएको छ ।

अहिले पर्यटक कम आउने समय भएकाले पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमबाट अहिले भइरहेका पर्यटकभन्दा ३० प्रतिशत बढी पर्यटक आउने अनुमान गरिएको छ ।

अहिले सौराहाका होटलमा ३० प्रतिशत मात्र पर्यटक रहेका छन् । यसलाई बढाउन यो कार्यक्रम फलदायी हुने उहाँले बताउनुभयो । हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाको बसाइ लम्व्याउन सहज हुने उहाँको भनाइ छ ।

मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संस्कृति र पर्यटनलाई जोड्न यो महोत्सव सफल हुने बताउनुभयो । हात्तीलाई जबरर्जस्ती विभिन्न खेलमा सहभागी गराइएको भन्दै पशु अधिकारवादीले विरोध गरेपछि सङ्घले कार्यक्रमलाई केही फेरबदल गरेको हो । कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको चौरमा गर्ने विषयमा पनि केही संरक्षणकर्मीले आवाज उठाएका छन् ।