१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
अ अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिनुभयो ।

विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याउनुभएको थियो । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताउनुभयो ।

उहाँले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताउनुभयो । “साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।” फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा रु एक लाख ५० हजार जति खर्च हुने गरेको छ । “पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायतका तरकारीसमेत लगाएको छु”, उहाँले भन्नुभयो, “गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।” यहाँ उत्पादन हुने दूध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ ।

“फार्ममा उत्पादन हुने तरकारी तथा दूध बिक्रीका लागि समस्या छैन”, उहाँले भन्नुभयो, “तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दूध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।” आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध रु ७५ र भैँसीको दूध रु १०० मा बिक्री हुँदै आएको बताउनुभयो । “गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु”, उहाँले भन्नुभयो, “घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।”

पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताउनुभयो । “हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “सधैँ सबै काम चार जनालेमात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरुलाई पनि काममा लगाउने गरेका छौँ ।” गाईभैँसीको दूध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दूध दुहुन साढे एक घण्टा लाग्ने उहाँले बताउनुभयो ।

व्यावसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि रु एक लाख ५० हजार अनुदान पाएको उहाँले बताउनुभयो । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरुपमा गर्भाधान गराउने गरेको उहाँले बताउनुभयो । रासस