६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

 प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै

 प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै
अ+ अ-

भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।
यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।

धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाहरुले मान्दै आउनु भएको किरातीहरुको महान् चाडपर्व हामीले बिर्सिनु हुन्न यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथीभाईलाई पनि लिएर साकेला नाच्न आएकी हुँ ।”

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचिरहेका छन् ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु पछिल्लो समय उद्यौली–उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको छ ।

धरान–१५ का सरोज राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरुसँग प्रशिक्षण लिई साकेला नाच्न जान्छाँै ।

साकेला आउदा छुट्टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरु प्रस्तुत गरेर नाच्ने गर्छौे । “आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरु सिकाएर धरानबाहेक हरु ठाउँहरुमा पनि नाच्न जाने गरेका छौँ” ।

उधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोडलगायतका शहरी क्षेत्रहरुमा यस पर्व उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान–११ का चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा   ९नाक्छोङ० ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ ।’’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ ।

यस चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक यस पर्व मनाइन्छ उधौली र उभौलीमा पितृहरुको पुजा अथवा ९माङ० गर्ने चलन छ ।

साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ । आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गर्दछन् । “साकेला अथवा–उधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक रहेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।”

राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा युवा साकेला नाचिन्छ । काठमाडौँका टुडिखेल, हात्ती वनलगायत स्थानमा साकेला नाच्ने गरिएको छ ।

चार किरात ९राई, लिम्बू, सुनुवार र याख्खा० समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको छ । सोही प्रचलन अनुरुप आइतबार राईहरूले साकेला÷साकेन्वा मनाइरहेका छन् भने लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाइरहेका छन् । उधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राईहरुले मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन् । वैशाख पूर्णिमा अर्थात उभौली एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउने गरिन्छ ।

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौंली पर्व किराँती मान्यताअनुसार आजको दिनदेखि हिउँद शुरु भयो, मार्गशीर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुशीयालीमा यो पर्व मनाउने गरिएको बुढापाखाको भनाइ छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ भने मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ रहेको छ ।

किरात जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात मङ्सिर पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो भने २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किरात चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उभौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उँधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।

चासोक तङ्नाम 

लिम्बू समुदायले महान् चाडका रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजो अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व मनाउने गरिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको धरान १५ का प्रदिप मेन्याङ्बोले बताउनुभयो । उहाँले भन्न्ुभयो, ‘‘आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नामलाई लिइने गरिन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङे पनि गर्ने गरिन्छ ।’’

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, अन्धो बनाउने, कान दुखाउने, बहिरा बनाउनेजस्ता भयावह रोगब्याधीले दुःख पाइने लिम्बू समुदायको विश्वास रहेको छ ।

यो समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उधौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्राथना गर्ने गर्छ । यसलाई यद्वा पूजा उभौली पूजा भन्ने गरिन्छ र यिनै देवीदेवताको आर्शीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको मेन्याङ्बोको भनाइ छ  ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजा अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङ्कङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेशभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउने गरेका छन् । राजधानी काठमाडौँसहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ । रासस