८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान



अ+ अ-

गलेश्वर, (म्याग्दी) । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो ।

अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ ।

अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताउनुभयो ।

एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उहाँले जानकारी दिनुभयो । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।

पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ । रासस