२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिका सभापतिकी पत्नी अञ्जलासहित २६ विरुद्ध मुद्दा



अ+ अ-

मोरङ । मोरङको धनपालथान–३ मा रहेका उमा–गौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोपमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाइएको हो ।

विराटनगर महानगरपालिका–४ की योगिता शर्मा बाँस्तोलालगायत २० जनाको जाहेरीका आधार प्रहरीले उमा–गौरी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गरेको थियो । अभियुक्त २६ जनामध्ये सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशी यसअघि नै पक्राउ परेका थिए ।

प्रहरी अनुसन्धान सकिएपछि सञ्चालक समिति सदस्य राजवंशीबाहेकका २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । मुद्दामा फरार प्रतिवादीका रूपमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह छन् । सञ्चालक समिति सदस्य आमोद मण्डल र जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत विरुद्ध पनि मुद्दा चलाइएको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला सहकारीकी पूर्वसञ्चालक हुन् । उनी सहकारीमा २०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् । उनी सदस्य रहेकै बेला ऋणी र सञ्चालक समिति सदस्यको जग्गाको कागजपत्र धितो राखेर बुटवलको आरएसडीसी लघुवित्तसहित विभिन्न बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालिएको थियो  ।

१८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीले बचतकर्ताको २ करोड ३ लाख ५४ हजार फिर्ता गर्न सकेको देखिँदैन । सहकारीमा ५ हजार सेयर सदस्य छन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।

सहकारीले आरएसडीसीबाट २०७७ असोज २३ मा निर्णय गरेरै २०७७ फागुन १३ मा २ करोड रुपैयाँ र २०७८ असार २४ मा ७५ लाख रुपैयाँ कर्जा लिएको थियो । कर्जा लिने निर्णय गर्दाका तीन वटै बैठकमा संस्थाका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला तथा आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए । उनीहरूको हस्ताक्षरसहितको कागजात आरएसडीसीले अदालतमा पेस गरिसकेको छ ।