एजेन्सी । ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरिएको छ । सुपरस्टार अल्लु अर्जुनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ ।
हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सोहि क्रममा अनुसन्धानको लागि अल्लु अर्जुनलाई पक्राउ गरिएको बताईएको छ ।
चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।










