२३ मंसिर २०८२, मंगलवार
,
Latest
प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम–तस्बिरहरु निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं विश्वविद्यालयद्वारा यही २९ गते एक हजार २५६ जना विद्यार्थी दीक्षित हुँदै



अ+ अ-

काठमाडौं विश्वविद्यालयको यही मंसिर २९ गते हुने ३०औं दीक्षान्त (पहिलो चरण) को समारोहमा एक हजार २५६ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा.डा. टी.एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको उपस्थिति हुने तय भएको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना दीक्षित हुन लागेको विश्वविद्यालयले जनाएको छ ।

स्नातक तर्फ मानविकीका १११ जना, शिक्षा संकायका २५३ जना, इन्जिनियरिङका ७७ जना, कानुनका ३९ जना, व्यवस्थापन संकायका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र विज्ञान संकायका १३० जना रहेका छन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको Master in Urban Studies मा ५ जना, Master in Media Studies मा १ जना र Master of Fine Arts मा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिने भएको छ ।

त्यसैगरी स्कुल अफ एजुकेसनको Master in Indigenous Education and Development मा १९ जना र Master in Training and Development मा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ इन्जिनियरिङको Master in Health Informatics मा २ जना र M. Tech. in Energy Systems (Joint Degree with IIT, Madras) मा ४ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

स्कुल अफ मेडिकल साइन्सेजको Bachelor of Science in Medical Imaging Technology मा ८ जना र Bachelor of Science in Laboratory Medicine मा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा काठमाडौं विश्वविद्यालयबाट कूल ४६ हजार ६९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५४२ जना विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो ।