१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी
अ अ+ अ-

देउखुरी । दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।

तुलसीपुर–१६ का सीता चौधरी सो सहकारीको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ पूर्वकमलरी हुनुहुन्छ । उहाँले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आउनुभएको छ । सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उहाँले बताउनुभयो ।

“सामूहिक रुपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौं”, उहाँले भन्नुभयो । गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो । “अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “गत वर्ष धेरै जसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ ।”

सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताउनुभयो । “सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो”, उहाँले भन्नुभयो, “अन्य सामान्य धानभन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ, अरू धान रु तीन हजार चार सयमा बिक्री हुन्छ ।” तिल्की धान रु आठ हजार प्रतिक्विन्टलमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

बाह्र क्विन्टल धान बिक्री गरेर रु ९६ हजार आम्दानी भइसकेको उहाँले बताउनुभयो । चामल रु १५ हजार प्रतिक्विन्टलमा बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ ।”

गत वर्षभन्दा यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँको भनाइ छ । चार सय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । जैविक मल प्रयोग गरेर खेती गरेको उहाँले बताउनुभयो । चामल ढुवानीमा समस्या रहेको उहाँँले बताउनुभयो । चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उहाँको भनाइ छ । वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकारणको माग गरेको उहाँले बताउनुभयो ।

विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरिएको थियो । मुक्त कमलरीले आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् ।

सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो । उहाँले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरेर आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताउनुभयो । तुलसीपुर–१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले दाङमा नमूना काम गरेको उहाँले बताउनुभयो ।