काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित दर्ता गरेको हो ।
कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनायो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । कप्तान कुशल मल्लले २० रन जोड्दा रवि बोपाराले १२ रन बनाए ।
चितवनलाई स्तब्ध बनाउन कप्तान पौडेल एक्लैले ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिए। रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिषेस गौतमले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
बलियो स्कोर खडा गर्न कप्तान रा्हितले ८० रन बनाएका थिए । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रोहित र विन जफरले ११५ रनको साझेदारी गरेका थिए । जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए । यस्तै अर्जुन साउदले १५ र टम मूर्सले १० रन जोडे ।
बलिङमा चितवनका रिजन ढकाले ३ विकेट लिएका थिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए ।
यससँगै, चितवन ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । ५ खेलमा एक जित र ४ हार बेहोरेको लुम्बिनी अंकतालिकाको अन्तिम स्थानमा छ । अब, लुम्बिनीले अर्को खेलमा बुधवार दिउँसो काठमाडौं गुर्खाजको सामना गर्नेछ भने चितवनले शुक्रवार दिउँसो विराटनगर किंग्सको सामना गर्नेछ ।
आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् ।










