१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट
अ अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । “यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ”, उहाँले बताउनुभयो । प्रजनन्मै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो ।

उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन् ।

महिनावारीको अवधि लम्बिने, असामान्य रगतस्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताउनुभयो । “पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ । यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ” सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भन्नुभयो । “विगतमा यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजनन्मा समस्या भइरहेको बताएका छन् । उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ ।” हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन् । लबुचेका सङ्गम राई भन्नुहुन्छ, “पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।” हिमालमा यस्ता परिवर्तनका असरहरु देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्नुहुन्छ, “आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ । यो राम्रो सङ्केत होइन ।” यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पु¥याएको अभियान्ता प्रजिता कार्कीले बताउनुभयो । “महिलाहरु घरदेखि बाहिर समेत बढी केन्द्रीत हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको शिकार बढी मात्रामा महिलाहरु भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन्”, कार्कीले भन्नुभयो ।

प्रजनन् स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव

महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने सङ्केत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ । यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ । “यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन् समस्या नदेखिएला भन्न सकिन्न”, उहाँले भन्नुभयो ।

स्थानीय उत्पादन र खेतीमा गिरावट

खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । “पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ” उहाँले भन्नुभयो । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरु अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरुको पोषणमा असर पर्नसक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरु उब्जाउ हुने जग्गाहरु बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताउन्ुभयो ।

हिमनदीहरू खस्कँदै, हिमालहरु कालापत्थरमा परिणत हुँदै

सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।” पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । “पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ”, गोरक्सेपका व्यवसायीहिरा कुलुङले भन्नुभयो । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिमगलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पु¥याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैरजैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरुको तर्क छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन् ।सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरु काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरु हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभास हुन्छ ।”

जलवायु परिवर्तनको कारण र समाधान

जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा। राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठूलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरु पग्लिएर गइरहेका छन् ।

सामूहिक कदमको आवश्यकता

सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । “यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,” डा। थापाले चेतावनी दिनुभयो ।जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ । रासस