१९ मंसिर २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछः गृहमन्त्री लेखक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमण : ओली आशावादी, परराष्ट्रमन्त्री उत्साहित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको चार दिने औपचारिक भ्रमणका लागि जाँदैछन् । उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीको भ्रमणको कार्यसूची नै परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ ।

तर यो भ्रमणको कुरा गर्दा अरु कुनै विषयबस्तु भन्दा पनि बिआरआई परियोजना सबैभन्दा बढी चर्चाको शिखरमा रहेको छ । यो भ्रमणका क्रममा बिआरआई के हुन्छ ? यसमा सरकारले हस्ताक्षर गर्छ कि गर्दैन भन्ने विषय नै अहिले चर्चामा रहेको छ ।

तर कम्तीमा पनि सत्तारुढ दलहरुमा भने यो बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाउन सहमति जुटेको छ । नेपाली कांग्रेस र एमालेबीच सहमति भएपछि भने यसले नेपालको कूटनीतिक बृत्तका साथै देशको परराष्ट्र नीतिमा नयाँ र सकारात्मक सन्देश दिएको छ ।

देशभित्र राजनीतिक पार्टीहरुमा विभिन्न विषयमा असहमति रहने भए पनि विदेश नीतिमा भने उनीहरु एक भएको यो पहिलो उदाहरण सबैमा प्रस्तुत भएको छ । यो सकारात्मक कुरा हो । आजका दिनसम्म आइपुग्दा कांग्रेस–एमाले बीआरआई अघि बढाउन सहमत भएपछि आगामी दिनहरुमा अर्थात् अरु कुनै पनि देशसँगको सम्बन्धका कुरामा पनि यसले यस्तै एकताको सन्देश दिनसक्ने देखिएको छ ।

बीआरआईमा सहमति जुटाउन सरकारले कार्यदल नै गठन गरेको थियो । सो कार्यदलले पनि यसमा व्यापक मात्रामा गृहकार्य गरेको थियो । सो कार्यदलले निरन्तर रुपमा छलफल गरी एक अलग्गै फ्रेमवर्क बनाएको थियो । जसका लागि बिआरआई परियोजनाको कार्यान्वयन सम्बन्धी पूर्ण प्याक्ट पढेर परराष्ट्रमन्त्री डा आरजु राणाले उनीहरुलाई सुझाव पनि दिएकि थिइन् ।

सरकारको उच्चस्तरीय संयन्त्र एवं गठित कार्यदलले पनि मेहनतका साथ काम गरेको देखिएको छ । यसका कारणले नेपालले चीनसँगको उच्चस्तरीय वार्ताका क्रममा प्रयोग गर्ने बीआरआईको राम्रो मस्यौदा बनेको छ । त्यसैका आधारमा चिनियाँ पक्षसँग छलफल भएर निष्कर्ष पुगिने प्रधानमन्त्रीको योजना छ । मस्यौदामा कांग्रेस एमालेबीच सहमति भएपछि चीनले पनि लचकता साथ सहमति जनाउने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन् ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो चीन भ्रमण गर्न लागेका उनले चीनसँग ‘गेम चेन्जिङ’ परियोजनामा हस्ताक्षर गर्न चाहेका थिए । तर पनि सुरुमा सत्तारुढ दल नेपाली कांग्रेसकै सहमति प्राप्त गर्न सकेका थिएनन् । ओलीको चीन भ्रमणको चर्चाका सुरुआती दिनहरुमा ओली बिआरआईमा जसरी पनि हस्ताक्षर गर्ने बताएका थिए भने कांग्रेसले त्यसमा पूर्ण सहमति दिन सकेको थिएन । कांग्रेस अनुदनमा परियोजना पाए मात्र लिने अडानमा थियो ।

तर यसले केही दिनमै यस्तो ठोस आकार लियो कि बहुचर्चित बीआरआईअन्तर्गत पूर्वाधार परियोजना अघि बढाउन कांग्रेस पनि सहमत भयो र सत्तारुढ मात्र नभएर यस विषयमा लगभग राष्ट्रिय सहमति नै जुट्यो भन्दा हुन्छ । किनभने यसमा अब अरु कुनै पार्टीको आपत्ति छैन । नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले अनुदानमा परियोजनाहरु लिन र त्यो बिआरआइकै फ्रेमवर्क भित्र लिन कसैको पनि आपत्ति छैन ।

बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा पनि अब धेरै नै सहजता हुने देखिएको छ । बिआरआईका सन्दर्भमा नेपालका मुख्य दलहरुमा यसप्रकारको सहमति भएबाट अबका दिनमा पनि नेपालको कुनै पनि अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार हुनेछ भन्ने आशा गर्न सकिन्छ । त्यसका लागि यो एक सुखद आरम्भ हो भन्दा फरक पर्ने छैन ।

नेपालले ‘बिआरआई कोअपरेन फ्रेमवर्क’ नामको एक नयाँ फ्रेमवर्क नै बनाएको छ । काठमाडौंमा तयार भएको बीआरआई मस्यौदाको अध्ययन यतिबेला बेइजिङमा पनि सुरु भएको छ । चीन भ्रमणका बेला सो मस्यौदा परराष्ट्रमन्त्री डा आरजु राणाले चिनियाँ समकक्षी वाङ यीलाई दिएकी छिन् । लाग्छ, प्रधानमन्त्री बेइजिङ पुग्नअघि नेपाल चीनबीच सहमतिको मस्यौदा तयार भइसक्न सक्छ र त्यसमा दुवै पक्षले हस्ताक्षर गर्नेछन् ।

यस विषयमा मन्त्री डा राणाले पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रसस्त संवाद गरेर शनिबार स्वदेश फर्केकी छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण र सहमति हुने संभावित विषय बीआरआई सहमतिलगायत विषयमा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो । आफ्नो भेटवार्ताबारे राणाले शनिबार ओलीलाई जानकारी गराएकी छन् । उनले सो भेटवार्ता सौहार्द र सकारात्मक भएको जानकारी प्रधानमन्त्रीलाई गराएकि पनि छन् ।

उनले आफूले स्पष्ट रुपमा नै चिनियाँ विदेशमन्त्रीलाई नेपालले अनुदानमा परियोजनाहरु गर्ने विषयमा निर्णय गरेको जानकारी गराएको बताएकि थिइन् । शनिबार चीनबाट फर्केकि उनले विमानस्थलमा भनिन्‐ बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ ।

अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको जानकारी मैले चीन सरकारलाई गराएको छु । यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यसको जानकारी नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्रीजीलाई पनि छँदै छ । त्यसैले अनुदानमा नै अघि बढ्ने विषयमा छलफलहरु जारी छन् । मलाई लाग्छ अनुदानमै हामीले यो परियोजना लिनेमा विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सहमति हुनेछ ।

चीनले खासगरी नेपालमा बीआरआईअन्तर्गत पूर्वाधार र केही विकासका परियोजना रुचाएको आएको छ । व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी, ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टिभिटी जस्ता विषय चीनको रोजाइमा छन् । त्यसैको प्रारुपमा रहेर नै नेपालले पनि आफ्ना खाँचोका आयोजनाहरुलाई अघि सार्ने योजना बनाइसकेको छ ।

त्यसैले आसन्न चीन भ्रमण र त्यसका क्रममा हुने सहमतिका विषयमा प्रधानमन्त्री आशावादी र परराष्ट्र मन्त्री उत्साहित देखिएका छन् । यदि उनीहरुको यस्तै उत्साह र आशा अनुरुप नै चीन भ्रमण सम्पन्न भयो भने नेपाल र नेपालीका लागि पनि उत्साह पक्का पनि थपिने नै छ । खासमा हाम्रा ठूलो छिमेकी उत्तर र दक्षिणतर्फबाट समृद्धिको ढोका खोल्न सकियो भनेमात्र नेपालको आर्थिक विकास र हाम्रो समृद्धि सम्भव छ । समृद्ध छिमेकीबाट लाभ के लिने भन्ने रणनीति बनाउने हामीले नै हो । नत्र हाम्रो समृद्धिको सपना विपनामा परिणत हुन अझ कतिधेरै कुनुपर्छ भन्ने ठेगान छैन ।