काठमाडौं। नेपाल प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेर उक्त सुन बरामद गरेको हो ।
प्रहरीले १ केजीका १३ थान बिस्कुट, ८ केजी ५७६ ग्राम बराबरको मझौला बिस्कुट ४६ थान र १०० ग्रामका सानो बिस्कुट १० थान (एक केजी) बरामद गरेको थियो । साथै ६८१ ग्राम बराबरका सुनका गरगहना पनि बरामद भएको वीरगन्ज प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख गंगा पन्तले २३ किलोभन्दा बढी सुन बरामद भएको जानकारी दिइन् । उनले २ केजी भन्दा बढीका चाँदीका गरगहना तथा भाडाकुँडा बरामद गरिएको बताइन् ।
पन्तले स्थानीयबासीको रोहबरमा गणेश अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको जानकारी दिइन् ।
उक्त फ्लाट अशोक सिन्हाको रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय कोरोनाभाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल भए पनि अन्तरराष्टिय बजारमा सुनको भाउ ह्वात्तै बढेपछि यसको तस्करी बढेको अनुमान गरिएको छ ।











