५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा



अ+ अ-

भरतपुर। यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । महाधिवेशनलाई लक्षित गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ ।

“महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौँ”, प्रजिअ अर्यालले भन्नुभयो, “आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ ।” महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताउनुभयो । उहाँका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ ।

“सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्”, प्रहरी उपरीक्षक  पौडेलले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन ।”

महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताउनुभयो ।

“प्रतिनिधि र सहभागीलाई सकेसम्म सीमित सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि रत्ननगरको टाँडी क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अन्ततः भरतपुरमा सारिएको हो । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार अध्यधिक गर्मी, वर्षा तथा सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको हो ।

“यति ठूलो राष्ट्रिय कार्यक्रमको आयोजक बन्न पाउनु चितवनका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “सहभागीलाई घाम र वर्षाबाट सुरक्षित राख्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन् ।”

महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीसँगै पार्टीका नेता कार्यकर्तासमेत खटिने सभापति खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । खुला सत्रमा भने ४० हजारदेखि ५० हजारसम्म उपस्थित हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

महाधिवेशनमा सवारीसाधन व्यवस्थापनका लागि पूर्वी क्षेत्रबाट आउनेलाई केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । पश्चिम र काठमाडौँ क्षेत्रबाट आउने सवारीसाधनलाई विशाल चोक नजिकै रहेको वीरेन्द्र क्याम्पसको खुला चौरमा व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस