६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति, स्थायित्व र विकासका लागि बिआरआई परियोजना महत्वपूर्ण– नेकपा अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ । 

मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताउनुभएको हो । बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफुले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताउनुभयो । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उहाँले बताउनुभयो । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुनेपनि उहाँले बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड  परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्त कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।