३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सूर्योदय हेर्न हाँडीकोट

सूर्योदय हेर्न हाँडीकोट
अ+ अ-

बागलुङ । पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुगे । ब्याडथलामा रात काटेका जिसी र उहाँका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे । एक घण्टाको पदयात्रापछि हाँडीकोट पुगे ।  हाँडीकोटको टापुमा पाइला राख्दा÷नराख्दै पूर्व क्षितिजमा लाली छायो । केही छिनमै सूर्य उदायो । “धेरै ठाउँको यात्रा गरियो तर हाँडीकोटबाट देखिने सूर्योदय अद्भुत नै लाग्यो”, जिसीले सुनाए । फोटोग्राफीमा पनि अब्बल जिसीले सूर्योदयलाई क्यामेरामा कैद गरे ।  घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले त झन् उहाँलाई रोमाञ्चित तुल्यायो । पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उनको भनाइ छ । जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्नेमा जिसी एक्लो थिएनन् । पर्यटन प्रवद्र्धनमा सक्रिय ‘घुमन्ते समूह’का सदस्य, पत्रकारलगायतले दशैँको छेकोमा हाँडीकोटलाई लक्ष्य बनाएका थिए । शुक्रबार मध्याह्नपख बागलुङ बजारदेखि यात्रा थालेका उनीहरु आइतबार बिहान मात्र हाँडीकोट पुगेका थिए । पहिलो दिन जैदी, सुन्तलाचौरमा रात काटेर भोलिपल्ट बिहान हात्तीढुङ्गा, बेलबगर, गाईधुने गुफा हुँदै ब्याडथला पुगेको ‘घुमन्ते समूह’का सदस्य खिमबहादुर क्षेत्रीले बताए । 

जैदी सेरोफेरोका पर्यटकीय गन्तव्य चहार्दै शनिबार साँझ हाँडीकोट तल ब्याडथला बास बस्न पुगेको उनले जानकारी दिए। “यात्राको एउटा लक्ष्य सूर्योदय अवलोकन पनि थियो, साँच्चिकै त्यसले हाम्रो यात्रालाई पूर्ण बनायो”, क्षेत्रीले भने । त्यस दिन हिमाल पूरै नखुले पनि सूर्योदयले अरु थोक बिर्साइदिएको उनले बताए। पर्यटकीय लेक हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन् । कुनै बेला भुरे÷टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान रहेको तथा दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीयवासी बताउँछन् । हाँडीकोट युवा क्लबका सदस्य यम पुनले सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको बताए । “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी,  शौचालय र खाजा खानेसम्म ठाउँ छैन”, उनले भने, “पछिल्लो समय हाँडीको चर्चा हुन थाले पनि सोअनुसार यहाँको विकासले गति लिन सकेको छैन ।” स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले समेत हाँडीकोटलाई बेवास्ता गरेको उनको गुनासो छ ।

फोटो पत्रकार आरके अदिप्त गिरीले पर्यटनमैत्री र कलासापेक्ष ढङ्गले संरचनाहरु बनाउनुपर्ने बताए । जथाभावीरूपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने उनको भनाइ छ । “माथिसम्मै सडक किन ल्याउनुपर्यो ? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ”, उनले भने । गिरीले हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने धारणा राखे । विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर हाँडीकोटमा पर्यटन विकासको काम थालिएको जनाएको छ । पदमार्ग, दृश्यावलोकन स्तम्भ, मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना नगरपालिकाको छ । दृश्यावलोकन स्तम्भका लागि प्रदेश सरकारको समेत रु १५ लाख बजेट छ ।

नगरपालिकाको लगानीमा पूर्व र उत्तरपट्टिबाट गरी एक किमी जति पदमार्ग पनि बनिसकेको छ । कच्ची सडक पनि नजिकै पुगेको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ । त्यहाँबाट पैदले हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गत वर्ष हाँडीकोट महोत्सवसमेत गरिएको थियो ।