काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिकाका ३३ वर्षीया महिलाको आज बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । महिला भने हाल मकवानपुरको हेटौंडा–५ बस्दै आएकी थिईन् ।
रत्ननगरका वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कात्तिक ५ गते एचडीयूमा राखेर उपचार गरिएको थियो । ३३ वर्षीया महिलालाई भने गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासको समस्या भएकी ती महिला ३७ हप्ताको गर्भवती थिइन् ।











