काठमाडौ । एमएनटीभी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ सुरु गर्ने घोषणा गरेको छ ।
कोभिड १९ को महामारीको चपेटामा परेको यो विषम परिस्थितिमा हल अफ फेम सिजन २ गर्न जानेको एमएनटीभीले जनाएको छ ।
नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पहिलो सिजनको सफलताका पछि अझ बृहद बनाउँदै लाखौं दर्शक श्रोतामाझ लैजाने अभियान अन्तरगत हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना बनाएको आयोजकले जनाएको छ ।
सांगीतिक प्रतिस्पर्धात्मक यस कार्यक्रममा निर्णायककोरुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनुहुनेछ । कार्यक्रममाको संञ्चालन मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठले गर्नेछिन् । यस प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिने समय आगामी नोभेम्बर १५ सम्म राखिएको छ । निर्धारित समयसीमाभित्र प्राप्त प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिनेछ ।
त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ । आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुनेछ । हल अफ फेम सिजन-२ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ ।
एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ । यसको अध्यक्ष मेलबर्नका सफल व्यवसायी एवं सामाजिक अभियन्ता चन्द्र योञ्जन रहनुभएको छ भने सम्पादकीय नेतृत्व चिरञ्जीवी देवकोटाले गर्नुभएको छ । हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नुहुनेछ ।











