काठमाडौंः नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ ।
भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै हुनुहुन्छ । नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन रहदै आएको छ ।
विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन १९५० देखि दुबै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदबी दिँदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने विक्रम सम्बत् २०२० जेठ २५ गते राजा महेन्द्रवीर विक्रम शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष साम हर मुसजी फ्राम जमसेद जी मानेक साहलाई नेपाली सेनाको मानार्थ महारथी पदबी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथि पद्बी दिने प्रचलन सुरु भएको बताउनुभएको छ ।
शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाण अनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दर्ज्यानी नै पहिलो भएको बताउनुभयो ।
यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहनुभएका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पद्बी दिएको लिखित प्रमाण रहको पनि बताउनुभयो ।
त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदबी दिने प्रचलन बसेको उहाँको भनाई छ । तर २०४४ साल देखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सत्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पदबी नलिएको पनि उहाँले बताउनुभयो ।
तत्कालिन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालिन प्रधान सेनापति जबराले भारत भ्रमण गर्नुभएन ।
त्यसैकारण उहाँले पदबी नलिएको थापाले बताउनुभयो । नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पदबी दिने गरिएको छ । दुबै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पदबी दिने परम्परा रहेको छ ।











