काठमाडौं । आफूलाई प्रधानमन्त्री केपी ओलीबाट धोखा भएको भन्दै बालुवाटार जान नमानेका नेकपा अध्यक्ष प्रचण्ड आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी पुगेसँगै सत्तारुढ दल नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच कुराकानी भएको छ ।
यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेका थिए तर प्रचण्डले नजाने अडान लिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले पनि नेकपाका वरिष्ठ नेता माधव नेपाललाई बोलाएर छलफल गरेका थिए । त्यसपछि आज भने प्रचण्ड बालुवाटार पुगेका थिए ।
त्यस छलफलका क्रममा अध्यक्ष प्रचण्डले नेकपाको सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका समाचार स्रोतले जानकारी गराएको छ । समाचार स्रोतका अनुसार भारतीय जाशुशी एजेन्सी रअका प्रमुखको नेपाल भ्रमण, र पछिल्लो समयमा कर्णाली प्रदेशका विषयमा देखिएको विवाद र पर्सा घटनामा पनि पार्टीभित्र व्यापक मात्रामा छलफल गर्नुपर्ने भएकोले सो छलफल सचिवालयमा गर्नुपर्ने भन्दै प्रचण्डले सचिवालय बैठकको प्रस्ताव गरेका हुन् ।
यस विषयमा प्रधानमन्त्री ओलीले भने केही बताएका छैनन् । तर अध्यक्ष प्रचण्ड सचिवालय बैठक बोलाउनुपर्ने र त्यसका लागि प्रधानमन्त्री तयार हुनुपर्ने भन्दै बालुवाटारबाट फर्किएको स्रोतको दाबी छ ।











