काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिब तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुक मार्फत महासचिब पौडेलले पार्टी एकता सम्पन्न भएसँगै एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी रहेको भएपनि तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।
महासचिब पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन भन्दै तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यहरु लाई हार्दिक अनुरोध गर्नुभएको छ । महासचिब पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको समेत स्मरण गराउनु भएको छ ।











