• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो

सुरु भयो रुपाली होलीको रौनक



महेन्द्रनगर । पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन् ।

विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ । होटल व्यवसायी सङ्घ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताउनुभयो ।

“पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो”, उहाँले विगत सुनाउँदै भन्नुभयो, “अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन् ।” भव्यरुपमा यो पर्व मनाउँदै आएको भीमदत्तनगरका स्थानीय अजुर्नदेव जोशीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो परम्परा, संस्कृतिको जगेर्ना र युवा पिँढीलाई आत्मसात् गर्न होली रुपाली समुदायको घर÷घरमा पुगेर मनाउने गरेको बताउनुभयो । “हाम्रो होली मित्रताको भावनाअनुसार खेलिन्छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्व रहेकाले होलीमा मदिरालगायतका मांशाहारी खाना बन्देज हुन्छ ।”

त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताउनुभयो । “यहाँ होलीमा सङ्कलन भएको रकमले वैजनाथ मन्दिरको विकासमा खर्च गर्ने गरेका छौँ”, जोशीले भन्नुभयो, “आजबाट घरघरमा पुगेर होली खेल्ने तयारी छ ।”

उहाँले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताउनुभयो । दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ ।

देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ ।  यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन् । सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन ।

आज यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर बिर्सजन हुने जोशीको भनाइ छ । उहाँले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताउनुभयो । रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवान्का गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ । “बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ”, जोराले भन्नुभयो, “परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ ।”