काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशाेर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आफु २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । साेमबार काठमाडौंम आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले मतदाताले आफूलाई बिजयी बनाउने विश्वास प्रधानले व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्र जोगाउनका लागि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ ।











