२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
अ अ+ अ-

म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।

म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।

परिवारसहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङ्खला अवलोकनका लागि जलजलामा पुगेर फर्कनुभयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उहाँले भन्नुभयो, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर विश्वकर्माले दैनिकजसो पर्यटकहरू आउने गरेका बताउनुभयो । “ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटक हिमालको दृश्यावलोकनका लागि जलजला आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “दसैँ–तिहारको बिदा र घुमघामको अनुकूल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौधौ भएको छ ।”

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभँैसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफँै बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जनासम्म पर्यटक आउने गरेका विकले बताउनुभयो ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न पाँचदेखि छ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना हँुदै खोरियासम्म गाडी र त्यहाँदेखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ ।

जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन सिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरूका लागि ‘भ्यू प्वाइन्ट’का रूपमा विकास भएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दीतर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उहाँले बताउनुभयो । रासस