झापाः रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले २०७६ का लागि देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार इटहरी –५ का बालगायक प्रितम आचार्यलाई प्रदान गर्ने घोषणा गरेको छ ।
आफ्नो गायनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा सांगितिक ख्याती कमाई राष्ट्रको श्रीवृद्धिमा योगदान पुर्याए बापत सातौं पटकको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारका लागि इटहरी स्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ८ मा अध्ययनरत् सुनसरीका १३ वर्षिय बालगायक आचार्यलाई छनौट गरिएको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
उक्त पुरस्कारकाे राशि ५१ हजार १११ रुपैंयाँ रहेकाे छ ।
सुनसरीका १३ वर्षिय बालगायक आचार्य पाँच बर्षको कलिलो उमेरदेखि गीत गुनगुनाउन थालेपनि छ वर्षको उमेरमा एरिना टेलिभिजनद्वारा आयोजित स्कुल आइडल गायन प्रतियोगिताबाट सांगीतिक यात्रा आरम्भ भएको थियोे ।
आठ वर्षको उमेरमा कान्तिपुर टेलिभिजनद्वारा प्रसारित पतञ्जली सुरशाला आइडलमा दोस्रो स्थान प्राप्त गरेका उनले १० वर्षको उमेरमा भारतको जीटिभीद्वारा अन्तर्राष्ट्रियस्तरको सारेगमप लिटल च्याम्प्स–२०१९मा तेस्रो स्थान प्राप्त गरेका थिए ।
भारतीय जीटिभीसँगको करार अनुसार सांगितिक प्रस्तुतिका लागि हङ्गकङ्गदेखि दक्षिण अफ्रिकासम्म पुगेका उनले दर्जनौ गीति एल्बमहरुमा स्वर दिनुका साथै आफ्नै गीतको म्युजिक भिडियोमा समेत मोडलिङ्ग गरेका छन् ।
सानै उमेरमा क्यान्सर पीडितको उपचारार्थ भैरहवामा आयोजित गायन कार्यक्रम मार्फत रकम संकलन गरेका उनले तथा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा रङ्गशालाको निमार्ण सहयोगार्थ निर्मित चलचित्र सेन्टी भाइरसमा बालकलाकारको भूमिका निर्वाह गरेका छन् ।
डा भगवान कोइरालासमेतको संलग्नतामा बालबालिकाको लागि सातैवटा प्रदेशमा स्थापना गर्न लागिएको मुनाफारहित अस्पतालको लागि सद्भावनादुतको रुपमा नियुक्त उनी बालबालिकाको हित प्रवर्धनमा समेत सक्रिय रहँदै आएका छन् । इटहरी उपमहानगरले समेत वालगायक आचार्यलाई बाल सद्भावना दुत घोषणा गरेको छ ।
समाजमा भएका अनुकरणीय कार्यहरु गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरुको प्रतिभा र कार्यहरुको संरक्षण, प्रबद्र्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले स्व। श्रीप्रसाद ओलीद्वारा एक करोड रुपैंयाँको कोष खडा गरी गैर सरकारी, गैर राजनीतिक र गैर नाफामूलक सामाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय, झापामा २०६७ साल चैत्र १७ गते दर्ता भई रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान हालसम्म अविछिन्न रुपमा क्रियाशिल रहेको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबर्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष राष्ट्रियस्तरको महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा चारवटा पुरस्कार र सम्मान प्रदान गर्ने गरेको र प्रतिष्ठानले छैठांै पटकसम्म राष्ट्रियस्तरका पुरस्कार र सम्मान वितरण गरिसकेको उनले जानकारी दिए ।
यस अघि प्रतिष्ठानले सातौं पटकका लागि २०७६ का लागि रुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०७६ पालुङ्गटार– ७, च्याङ्गली, गोरखाका अगुवा कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने घोषणा गरेको , गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार दोलखा झुले निवासी समाजसेवी तथा महिला अधिकारकर्मी सिर्जना कार्कीलाई प्रदान गर्ने घोषणा गरेको, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार झापाली साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गर्ने घोषणा गरेको उनले बताए ।
सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबद्र्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरिएको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका सचिव यज्ञराज ओली (गोपाल) ले बताए । (समाचार स्राेतः पूर्वान्चल दैनिक डट कम)











