काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको एक करोड रूपैयाँ सहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएअनुसार उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ बरामद भएको छ । काठमाडौँको ओमबहाल चोकबाट बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको हो ।
मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए। उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।
नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।











