२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो

मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
अ अ+ अ-

भोजपुर । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवागमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पयर्टकलाई सहजता थप्नका लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाका विषयमा जानकारी लिने उद्देश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पयर्टकको चाप बढ्न थालेपछि उनीहरुलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नका लागि यो पदमार्गको दुई हजार तीन सय ५१ मिटर उचाइ रहेको चखेवाभञ्ज्याङदेखि जिल्लाको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो ।

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि गर्नुपर्ने कामको अध्ययन, अनुसन्धानका लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा पदयायात्रामार्फत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

“मुन्दुम ट्रेल पर्यटकको रोजाइको गन्तव्यका रुपमा स्थापित भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ, यहाँ आउने पर्यटकलाई थप सहजता थप्नका लागि गर्नुपर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्षसहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ, अब यात्राको क्रममा देखिएको समस्याका समाधानमा जोड दिन्छौँ ।”

सो गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गको यात्राका क्रममा पदयात्रीलाई पर्नसक्ने समस्याको खोजी तथा यो पदमार्गलाई थप व्यवस्थित बनाउन स्थलगत रुपमा अनुगमन गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो । स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको समाधानमा गाउँपालिकाले क्रमिक रुपमा काम गर्ने उहाँको भनाइ छ ।

मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यो सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो ।

“यो पदमार्ग घुम्न आउने पर्यटकलाई सहज आवगनका लागि काम गरिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको अवस्था छ, यो पदमार्गलाई थप व्यवस्थित बनाउन गर्न सकिने कामको पहिचान गर्न स्थलगत रुपमा अनुगमन गरेका छौँ ।”

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । यहाँको प्राकृतिक सौन्दर्यताको उजागरसँगै प्रचारप्रसारको क्षेत्रमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । “यो मार्ग छोटो समयमा पर्यटकको रोजाइको गन्तव्य बन्न सफल भएको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “यहाँ पर्यटकलाई आकर्षित गर्ने धेरै क्षेत्रहरु छन्, गाउँपालिकाले यसको थप विकाससँगै प्रचारप्रसारमा जोड दिएको अवस्था छ ।” उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिनुभयो ।

यो पदमार्गमा बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।