१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीसँग मुख्यमन्त्री : ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । 

प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उहाँले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो ।  

मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । “रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।” साथै उहाँले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कर्भडहल बनाउने योजना रहेको बताउनुभयो । 

मुख्यमन्त्रीसँग कर्णालीका खेलाडीले जिल्ला खेलकुद विकास समितिलाई न्यूनतम कर्मचारी र प्रशिक्षक राख्न बजेटको व्यवस्था गर्न, निर्वाचन क्षेत्रका लागि विनियोजित पूर्वाधार बजेटअन्तर्गत खेल पूर्वाधारलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै, मुख्यमन्त्रीसमक्ष खेलाडीले जिल्ला र स्थानीयस्तरमा हुने प्रतियोगिताका विजेता खेलाडीलाई समेत सरकारले पदक तथा पुरस्कार प्रदान गर्न, सुरक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरी खेलाडी पलायन रोक्न, पर्यटनसँग खेल क्षेत्रलाई जोड्नुपर्नेलगायतका माग राखेका थिए ।