काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि बुधबार उनी काठमाडौं आएका हुन्।
नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ। नरवणेले कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ।
मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरबाणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्ष नरबाणेले शिष्टाचार भेटवार्ता हुनेछ ।
प्रधानमन्त्रीसँगको भेटवार्ता पछि सेनाध्यक्ष नरबाणेले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नु हुनेछ ।
यसअघि नक्सालमा रहेको होटल मेरियटमा बस्ने कार्यक्रम मिलाइएको भए पनि सुरक्षाका कारण अन्तिम समयमा नरबाणेको बसाई ताहाचलस्थित होटल सोल्टीमा सारिएको छ ।
बिहीबार औपचारिक भेटवार्ता सकिएपछि शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । सुरक्षाका कारण नरबाणेको भ्रमणका लागि आवतजावत हेलिकोप्टरबाट हुने जनाइएको छ ।











