२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
अ अ+ अ-

धरान (सुनसरी) :  सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।

लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।

“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो ।

सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नुभएको छ ।

उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।

उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ ।

जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो ।

शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो ।

पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ ।

उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”

इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।सङ्गीता राई/रासस