वासिङटनः संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुनु भएको छ ।
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेनले रिपब्लीकनको गढ मानिएका पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै उहाँ अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल भोट सहित कूल २७३ भोट प्राप्त गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज मध्ये २७० मत आवश्यक पर्दछ ।
गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित हुनु भएको हो । यद्यपी जोर्जिया, एरिजोना र नेभाडामा मतगणना अझै जारी छ । यी राज्यमध्ये जोर्जिया र नेभाडामा बाइडेनले नै अग्रता बनाइ रहनु भएको छ ।
बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिनु भएको छ । उहाँले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताउनु भएको छ ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आउनु भएको छ । उहाँले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने बताउँदै आउनु भएको छ ।
पेन्सिलभेनिया राज्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि रिपब्लीकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार्ने वा अस्वीकार गर्ने भन्ने बारेमा केही समाचार सार्वजनिक भइसकेका छैनन् ।
यद्यपी रिपब्लीकन पार्टीका वरिष्ट नेताहरुले जनमतको कदर गर्न र हार स्वीकार्न दबाब दिइरहेका छन् ।
उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित
राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित हुनु भएको छ । उहाँ उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुनुहुन्छ । उहाँ अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी हुनुहुन्छ ।
नेपाली प्रतिक्रिया
रविन्द्र मिश्र ट्वीटमा लेख्नुहुन्छः अत्यन्तै बिभाजनकारी, जातीवादी, उग्रवादी, झूठ, मिडिया स्वतन्त्रता विरोधी, विज्ञान विरोधी डोनल्ड ट्रम्प हारेकोमा खुशी छु। कसैले चाहे नि, नचाहे नि अमेरिकी राजनीतिले विश्व राजनीति र हामी हरेकको जीवनलाई प्रत्यक्षरअप्रत्यक्षरुपमा छोएको हुन्छ। ट्रम्प खतरनाक थिए। गए। राम्रो भयो।
डा बाबुराम भट्टराई लेख्नुहुन्छः अमेरिकी राष्टपतिको उच्च पदमा निर्वाचित भएकामा जो बाइडेन र कमला ह्यारिस दुबैलाई बधाई । नेपाल र अमेरिकाबीचको सम्बन्ध तपाइँहरुको कार्यकालमा अरु समुन्नत भएर जाओस् ।











