२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम र जलवायु परिवर्तन असर न्युनिकरणमा काम गर्ने छुट्टै मन्त्रालय आवश्यक: पूर्वाधारविज्ञ पोखरेल



अ+ अ-

काठमाडौँ । पूर्वाधारविज्ञ डा.गोविन्द पोखरेलले विपद् जोखिम र जलवायु परिवर्तन न्युनिकरणको लागि काम गर्ने छुट्टै मन्त्रालय बनाउन आवश्यक भएको बताउनुभएको छ ।

विज्ञ पोखरेलले बाढी पहिरो जस्ता विपद् हेर्ने र जलवायु परिवर्तनको असर न्युनिकरणमा काम गर्ने मन्त्रालय छुट्याउन आवश्यक भएको बताउनुभएको हो ।

उहाँले  अधिकार सम्पन्न मन्त्रालय स्थापना गर्दा विपद् व्यवस्थापन,उद्धार,राहत र पुन:निर्माणमा राज्यका सबै निकायहरु लाग्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो । उहाँले नेपालले संरचना बनाउने र विकास गर्ने शैली,क्रियाकलाप,मापदण्ड,सुशासन र जलवायु परिवर्तन न्युनिकरणको लागि छुट्टै जलवायु परिवर्तन र विपद् व्यवस्थापन भनेर मन्त्रालय छुट्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् र जलवायु परिवर्तन हेर्नको लागि मन्त्रालय स्तरको अधिकार सम्पन्न मन्त्रालय नै खडा गर्नुपर्ने बताउनु भयो ।

मन्त्रालयको जलवायु परिवर्तनबाट हुनसक्ने अनकुलनका काम गर्ने र विपद्मा उद्धार, राहत,पुन:स्थापना र पुन:निर्माण गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तनका कारण भएको असरको क्षतिपूर्ति लिन सक्नुपर्नेमा उहाँको भनाई छ । वन तथा वातावरण र गृहमन्त्रालय मातहतमा राख्न नहुने भन्दै त्यसलाई छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले मन्त्रालय बनाएपछि त्योसँग सम्बन्धित निकायहरु प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आएका स्रोतहरु व्यवस्थापन गर्ने हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारी निकाय र निजी क्षेत्र कसरी परिचालन गर्ने भन्ने खाका बनाएर मन्त्रालय स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले भौतिक संरचनाहरु पुन:निर्माणको लागि सरकारसँग धेरै नीति नियम मापदण्ड,फ्रेमवर्क,मापदण्ड, लगायत विपद्मा गर्नुपर्ने सबै काम गर्न गाइडलाइन रहेको भएपनि कार्यान्वयन फितलो रहेको बताउनु भयो । अहिलेको बाढी पहिरोमा सबैभन्दा बढी असर क्रसरबाट आएको लेदोले गरेको बताउनु भयो । यसका लागि निरीक्षण गर्न नयाँ मापदण्ड बनाउनुर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘विश्वमा सबैभन्दा बढी विपद्को जोखिम रहेको देशमा पर्छ । विभिन्न कारणले हामीले अपनाएको विकासको मोडलले प्रकृतिलाई अण्डरमाइन गरेर विकास गरेका छौं । अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तनले गर्दा अतिवृष्ठि,अनावेष्ठि,हिमनदी फुट्ने लगायत सुख्खा आगालागी जस्ता धेरै विपद्हरु आएका छन् । जुन अन्तर्राष्ट्रिय कारणले पनि भएका छन् । नेपाल आगामी दिनमा विपद्को जोखिममा पर्ने बढी सम्भावना बढ्दै गएको छ । नेपाले भूकम्प र बाढी पहिरोबाट धेरै धनजन गुमाउनुपरेको छ । ठूलो धनजनको क्षति भएको छ ।’

जलवायु परिवर्तनको असर न्युनिकरण गर्नेगरी विकास संरचना मापदण्ड जरुरी

सडक बनाउने र जलवायु परिवर्तनको असर न्युनिकरण गर्नेगरी विकास संरचना मापदण्ड जरुरी छ । राजधानीका करिडोरमा सडक बनाएका छौं । तर अब के देखियो भने बनाएका सडकलाई ३ फिट होचो बनाउनुपर्ने देखियो । ती बाटोलाई ढलान गर्नुपर्ने देखियो । ताकी खोलामा बाढी आउँदा बाटो बाट बाढी बग्न सकोस् । खोलालाई बग्ने बाटो धेरै होस् । अहिलेको परिवेशमा नीति कानून,नीतिगत औजार,गाइटलाइनले सूसुचित हुनुपर्छ । सबै सरकारी निकायको भुमिका र जिम्मेवारीको स्पष्ट खाका विपद् व्यवस्थापन,पुन:स्थापना,राहत,उद्धार र पुन:निर्माणमा हुनुपर्छ । सरकारले यसको विषयमा सचेतना दिनुपर्छ । हरेक बाटो बनाउँदा, घर बनाउँदा,खानेपानी,जलविद्युत,वन फडानी सबै काम गर्दा वातावरणीय असरका कुरा गरेका थियौँ । अब त्यसले ल्याउनसक्ने विपद्का विषयमा ख्याल गर्नुपर्छ ।

विपद्बारेको जानकारी शिक्षादेखि पाठ्यक्रममा समावेश गर्नुपर्छ

हरेक विपद्मा कसरी उद्धार र बच्न सकिन्छ भन्ने विद्यालय शिक्षादेखि पाठ्यक्रममा समावेश गराउनुपर्छ । अहिले विपद्को सूचनालाई बेवास्ता गर्दा धेरै सवारीसाधन डुबेका छन् । हामीलाई साधन र स्रोत आवश्यक छ । मुलुकमा निर्माण हुने भौतिक पूर्वाधारहरु दरिलो र बलियो बनाउनुपर्छ । अबका विकास निर्माणका भौतिक संरचनाहरु ५० वर्षपछि हुने क्षतिको अनुमान गरेर बनाउनुपर्छ । मुलुकमा आवश्यकताको आधारमा मात्रै विकास निर्माणका काम गर्नुपर्छ । फजुल खर्च रोक्नुपर्छ । जुन दरिलो पूर्वाधार निर्माणमा लगाउनु पर्छ । बाहिर सहयोग जलवायु परिवर्तनको असर न्युनिकरणको लागि प्रयोग गर्नुपर्छ ।

विपद्जन्य घटना नेपालमा झनझन बढ्दै जानेछन्

हाम्रो देश विपद्हरु बढी जाने देशमध्येको एक हो । यसमा विभिन्न कारणमध्येको एक हाम्रो विकासको मोडेल पनि हो । हामीले अपनाएको विकासको मोडेलले प्रकृतिलाई अण्डरमाइण्ड गर्ने किसिमको छ । विश्वमा जलवायु परिवर्तनले गर्दा अतिवृष्टि, अनावृष्टि हिमनदी पग्लिने लगायत, सुख्खा, आगलागी थुप्रै चिजहरु वाह्य कारणले पनि भएको छ । त्यसैले पनि नेपाल आगामी दिनमा विपद्को जोखिममा पर्ने मुलुकमा झनझन बढी हुँदै जानेछ । अब कसरी जाने भन्नेकुरा नै मुख्य हो । त्यसको लागि सबैभन्दा पहिला संरचनाको कुरा गराँै । नेपाल विपद्को उच्च जोखिममा परेको मुलुक हो । हाम्रो विकास गर्ने शैली, हाम्रा क्रियाकलाप, हाम्रो मापदण्ड, सुशासन र अन्तर्राष्ट्रिय स्तरमा भएको जलवायु परिवर्तन सबै मिसाउँदा हाम्रो गति थप हुँदै जान्छ । त्यसैले यसलाई हेर्न छुट्टै विपद् व्यवस्थापन र मन्त्रालय नै छुट्टै गर्नुपर्छ ।

आवश्यकताको विकासमा जोड दिऔँ

भविष्यमा हामीले आज भन्दा ५० वर्षपछि फुट्नसक्ने हिमनदी, नदी, जलश्रोतका सबै आयोजनाहरु, परियोजनाहरु तिनलाई अब दरिलो र बलियो बनाउनुपर्छ । परयुनिट लागत कस्ट बढ्ने भयो । त्यो लागत खर्च कहाँबाट हामीले ल्याउँछौँ त रु आन्तरिक रुपमा निजी क्षेत्र, सामाजिक संघसंस्थाहरु, हामीले गर्ने कनिका छरे जस्तो विकास गरेका छौँ, त्यसलाई अब रोकेर आवश्यकताको विकास मात्रै गर्नुपर्‍यो । हाम्रो फजुल खर्च जुन भइरहेको छ, पटक पटक विभिन्न आयोगहरुले दिएको हामीले दुई, तीन खर्ब बचाउँछौँ भन्ने छ । जथाभावी हामीले फजुल खर्च गरेका छौँ, यसलाई रोक्न पर्‍यो । फजुल खर्च रोकेर दरिलो पूर्वाधार निर्माण गर्नेतिर लाग्नुपर्‍यो । जलवायु परिवर्तनले गरेको असरमा अब बाहिरको सहयोग परिचालनलाई विभिन्न कार्यविधि, मापदण्ड, सरकारले पनि परिचालन गर्ने र निजी क्षेत्रले पनि जलवायु परिवर्तन ९कार्बन उत्सर्जन० कम गर्‍यो भने राम्रो हुन्छ । अहिले भएका मापदण्डलाई सबै तहका सरकारले लागू गर्नुपर्छ ।

विकास निर्माण अब हाम्रो नियमित नियति हुन्छ

कुल गार्हस्थ्य उत्पादनको करिव करिव दुई/तीन प्रतिशत हाम्रो यो डिजास्टरले क्षति गरिरहेको छ । अझै त्यो बढिरहेको छ । हाम्रो करिव करिव ६० खर्बको कुल गार्हस्थ्य उत्पादनमा पाँच प्रतिशत मात्रै गुमाए पनि ३ खर्ब गुमाउँछौँ । त्यसकारण भविष्यमा यसबाट असर कम गर्न अहिले नै अनुकुलनतर्फ अग्रसर हुनुपर्छ । बाटो भत्कियो, त्यो पुन: निर्माण भयो । अब विकास निर्माण हाम्रो नियमित नियति हुनेछ । त्यसलाई हामीले अर्को पटक आउन्न भनेर सोचेर जानु हुँदैन । तपाईं जहाँसुकै इनार खन्नुस्, बाटो, पुल बनाउनुस्, विपद्ले यसलाई के गर्छ भनेर विपद्को जुन आयाम छ, विपद्को आयाम अहिले गरिने पूर्वाधारको विकासमा जोडेर जानुपर्छ । —न्युज एजेन्सी नेपाल