२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो ।

“देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”

पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गर्नुभएको छ ।

विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताउनुभयो ।

दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनःस्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को बिकल्प छैन भन्दै उहाँले भन्नुभएको छ, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकलाई पुनःस्थापना एवं पुनःवास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”

अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।