काठमाडौं । नेपाल र भारत दुबै देशले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि रोकिएको दुई देशबीचकाे सम्वाद कुटनीतिक तहमा पुनः सुरू हुन थालेको छ ।
हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भारतीय गुप्तचर निकाय 'रअ' का प्रमुख सामन्तकुमार गोयलले नेपालकाे भ्रमण गर्नु भएकाे थियाे भने नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिन भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि नेपालकाे भ्रमण गरी फर्किसक्नु भएकाे छ । उहाँहरू दुबैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्नु भएकाे थियाे ।
भारतका उच्च अधिकारीकाे नेपाल भ्रमण समाप्त भएलगत्तै भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नेपाल आउन लाग्नु भएको हाे ।
दुई देशमा पराराष्ट्र सचिवको छलफल पछि मन्त्रीस्तरीय छलफल अघि बढ्ने पराराष्ट्र स्रोतले जानकारी दिएको छ ।
भारतीय विदेश सचिव श्रृंगलाले यही मंसिरको ११ देखि १२ सम्म नेपाल भ्रमण गर्नु हुनेछ । त्यसपछि मन्त्रीस्तरिय भ्रमणको मिति तय गर्ने स्रोतले जनाएको छ । विदेश सचिवको जिम्मेवारी सम्हालेपछि श्रृंगलाले सार्क क्षेत्रमा अन्य मुलुकहरुको भ्रमण गरिसक्नु भएकाे भारतीय संचार माध्यमहरूले जनाएका छन् ।











