१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलको उपाधि मुम्बई इण्डियन्सलाई, दिल्लीकाे खराब प्रदर्शन



अ+ अ-

मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबइ अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहँदै ३३ रन जोड्दा हार्दिक पाण्ड्याले ३ रन जोडे । ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । कायरन पोलार्ड ९ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस र कागिसो राबाडाले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ राेजेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रनकाे मध्यम स्काेर खडा गरेकाे थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र रिषभ पन्तले अर्धशतकीय इनिङ्स खेले ।

श्रेयसले अविजित रहँदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर धवन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस शून्य रनमा आउट भए ।अक्षर पटेलले ९, शिभरन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरनायल र जयन्त यादबले १/१ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आइपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आइपीएल जित्ने पहिलो टिम हो । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो ।

गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौथो खेलमा पराजित भएको हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली यसअघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस्तै सन्दीपले यस सिजन दिल्लीको टिमबाट मैदान उत्रन पाएनन् ।

पर्पल क्याप र अरेन्ज क्याप

यस प्रतियोगितामा सर्वाधिक विकेट लिने दिल्ली क्यापिटल्सका कागिसो राबाडा रहे । उनले पर्पल क्यापको पुरस्कार पाए । उनले १७ खेलबाट ३० विकेट लिएका थिए ।

यस्तै ब्याटिङ तर्फ सर्वाधिक रन बनाउने किंग्स इलेभेन पञ्जाबका कप्तान केएल राहुलले अरेन्ज क्याप पाए । उनले १४ खेलबाट ६७० रन बनाएका थिए । उनले एक शतक (१३२ रन) समेत प्रहार गरेका थिए ।