९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती

सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।

मादलको तालमा कम्मर मर्काउँदै थारु युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरुले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताउनुभयो । थारु समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उहाँले बताउनुभयो । “ पहिला फुर्सद हुने भएकाले कृष्णजन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो”, जोनापुर गाउँका थारु वडघर सुरेश चौधरीले भन्नुभयो, “हाल सबै जना आ–आफनो कार्यमा व्यस्त हुने भएकाले यो नृत्य पाँचदेखि सात दिनसम्म मात्र देखाउने गरिन्छ ।”

नृत्यमा सहभागी युवतीले भगवान श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउँने गर्दछन् । गाउँका भद्रभलादमी, वडघर, गुरुवा, केसौका लगायतको बैठक बसि सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ । गुरुवाले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिने थारु अगुवा चेतराज चौधरीले बताउनुभयो ।
यस नाचमा मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नृत्यसँगै गीत गाउने युवतीको अगुवाई गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ ।

नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरूले सामूहिक रूपमा नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट ९पैँया० भन्ने गरिन्छ । पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको थारु बुद्धिजीवी दानसिंह दहितले बताउनुभयो ।

उहाँका अनुसार यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणीक नृत्य अष्टमीको रातभरी आयोजना गरिन्छ ।

पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ ।

दसैँपछि गाँउमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको स्थानीय फुलराम चौधरीले बताउनुभयो । धार्मिक मान्यताअनुरूप यो नाच आयोजना गरेमा गाँउमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको छ । थारु समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको थारु अधिकारकर्मी हवलदार चौधरीले बताउनुभयो । “युवाहरूले बुढापाकाबाट मादल बजाउने कला सिक्नै चाहेनन् र बुढापाकाहरूले पनि मादल बजाउन सिकाउनुपर्छ भन्नेमा ध्यान नदिँदा संस्कृतिको महत्वपूर्ण पक्ष नै सङ्कटमा रहेको छ”, उहाँले भन्नुभयो ।

लवाइखवाइ र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ । “महिलाहरूले आफैँले सियोको माध्यमले सिलाएर लेहङ्गा, चोलीलगायत पहिरन तयार पार्थे । हाल त्यो सीप थोरै महिलासँग मात्रै संरक्षित छ तर पुस्तान्तरण हुनसकेको छैन”, उहाँले भन्नुभयो, “कामको खोजीमा अरु ठाउँमा जानुपर्ने भएकाले परिवार छिन्नभिन्न भएकाले यस्तो समस्या आएको हाम्रो बुझाइ छ । त्यसैले मौलिकता जोगाउन सरकारी तवरबाटै संरक्षणको पहल हुन आवश्यक छ।” रासस