३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
अ+ अ-

कमलामाई, (सिन्धुली) । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोसी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ ।

खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी–५ रामटारबाट खाँडादेवी–३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको बताउँदै सुनकोसीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुङ्गे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्र्पक टुटेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष घिसिङले भन्नुभयो, “रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले पूर्ण रुपमा बगाएको छ । दुई वटा झोलुङ्गे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन् ।” यसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।

यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ । गोलञ्जोर–७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो । मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूर्ण रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

बाढीले पुल बगाउँदा रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजार क्षेत्रमा ताजा तरकारीको अभाव भएको होटल व्यवसायी मनोजकुमार श्रेष्ठले बताउनुभयो । जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय ठप्प भएका उहाँको गुनासो थियो ।

फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूर्ण रुपमा बगाएको छभने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कल–४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने र फिक्कल–६ सुनकोसी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो ।

फिक्कल–४ सुनकोसी–२ जोड्ने, फिक्कल–५ सुनकोसी–१ जोड्ने र फिक्कल–५ सुनकोसी–२ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिनुभयो । आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभाग्य वस्तु ओसारपसार तथा आवातजावत गर्ने यात्रुलाई समस्या परेको उहाँको भनाइ छ । पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन नसकेका उहाँले जानकारी दिनुभयो ।

सिन्धुली हुँदै रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजाने कठिन भएको छ । बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुन:निर्माण गरिदिन सुनकोसी गाउँपालिका–१ गोइरीकी कृष्णमाया तोलङ्गे तीनै तहका सरकारसँग आग्रह गर्नुभयो । “तीन दिन परेको पानीसँगै आएको बाढीपहिरोले कतै पुल तथा सडक बगाएको, कतै सडक भासिएको छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकार र सरोकार भएकाले यथाशीघ्र क्षति भएका संरचनाको मर्मत गर्नुका साथै बाढीपहिरो पीडितलाई राहत तथा उद्धारको काममा अग्रुरता दिनुपर्छ ।”

बाढीपहिरोले बगाएका तथा क्षति गरेका पुल र भत्किएका सडक पुन:निर्माण गरेर सञ्चालनमा आए दु:खजिलो जीवन निर्वाह गर्न सकिने तोलङ्गेले बताउनुभयो । विपद्को समयमा सबै एकजुट भएर सहकार्य र समन्वय गरी प्रभावित नागरिक र क्षेत्रका पक्षमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।