१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित



अ+ अ-

मलेखु (धादिङ): पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ ।

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ ।

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । “पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन । दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा पुरिएका गाडीको स्वरुप मात्रै देखिएको छ । सवारीमा मानवीय क्षति भए नभएसमेतको यकिन गर्न सकिएको छैन”, मिश्रले भन्नुभयो, “पूर्ण रूपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना निकै कम छ ।”

वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

नौबिसे नागढुङ्गा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्गअन्तर्गत सोही खण्डका ठाउँठाउँमा पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटमा सबैभन्दा ठूलो पहिरो छ ।

गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन् । आज अपरान्हदेखि वर्षात् केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ । यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ ।

नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङ्क छ ।रासस