१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

शनिवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

कानून बमोजिम पीडितहरुले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले अवरुद्ध सडक, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरु तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ ।

सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, ‘सरकारको अहिले कार्यबहाक प्रधानमन्त्री समेत रहनुभएका माननीय प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बस्यो । त्यो बैठकले यो २÷३ दिन लगातार परिरहेको भारी वर्षाका कारण जुन खालको नोक्सान भएको छ बाढी, पहिरोले । त्यो नोक्शानको एकखालको मूल्यांकन ग¥यो । र यो प्रकोपमा आफनो ज्यान गुमाउनु हुने सबै नागरिकहरुप्रति हामीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौ । उहाँहरुलाई दिनुपर्ने कानून मुताविको सबै क्षतिपूर्तिको प्रवन्ध हुन्छ ।

दोसो कुरा, यो भारी वर्षाका कारण जुन खालको समस्या पैदा भएको छ । अहिले भइरहेका परीक्षाहरु हालका लागि स्थगन गर्ने निर्णय भएको छ । त्यो थोरै समयको लागि हो । त्यस्तै घाइतेहरुको निःशुल्क उपचार सरकारले गर्ने गर्दछ ।

सबै घाईतेहरुको निशुल्क उपचारको काम पनि हामीले गर्दछौं । र तत्काल दिन्छौं । तत्काल अविलम्व अवरुद्ध भएको सडकहरु खोल्ने भन्ने काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिनु प¥यो । त्यो पनि निर्णय गरेका छौं । अब बाँकि टेलिफोनका लाईनहरु अवरुद्ध छन् कतै । कतै विजुलीका लाईनहरु अवरुद्ध छन । खानेपानीको पाईपलाईनहरु भत्केका छन ।

सम्बन्धित तत्तत मन्त्रालयले आ आफ्नो ठाउँबाट यो प्राकृतिक प्रकोपले जे जस्ताहरु पैदा भएको छ । त्यो समन्वयात्मक ढंगले समाधान गर्नका लागि पहल गर्ने र जहाँ, जहाँ जनताहरु समस्या हुनुहुन्छ, त्यहाँ हाम्रो अनुरोध, निवेदन के छ भने प्रधानमन्त्री कार्यालयको हटलाईन, नेपाल पहरी, नेपाली सेना, एपीएफको हटलाईन, गृह मन्त्रालयको हटलाईनमा सम्पर्क गरेर राहत तथा तत्काल उद्धारका लागि अनुरोध गर्न सक्नु हुनेछ ।

हाम्रो सबै तयारी अवस्थामा रहेर ३ वटै सुरक्षा अंगहरु तयारी अवस्थामा छन । गृह मन्त्रालय तयारी अवस्थामा छ । सम्बन्धित मन्त्रालय, जसले जहाँजहाँ राहत उपलब्ध गराउनुपर्नेछ । उद्दार गर्नुपर्नेछ । त्यो कामको लागि सबै मन्त्रालय आ आफ्नो जिम्मेवारी पूरा गर्नका लागि लाग्ने भनेर हामीले सामूहिक निर्णय गरेका छौं ।

जोजसले ज्यान गुमाउनु भएको छ, उहाँहरुप्रति हाम्रो श्रद्धाञ्जली छदैछ । उहाँहरुको परिवारजनमा हामी समवेदना व्यक्त गर्न चाहन्छौं । उहाँहरुलाई दिनुपर्ने राहतको कुराहरु हामी अविलम्व उपलब्ध गराईहाल्छौं ।’

बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।