२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु



अ+ अ-

पर्वत । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबारदेखि मर्मत गर्न थालिएको आयोजनाका इञ्जिनियर अच्युविलास पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार मालढुङ्गाबाट बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारीसाधन नियमित सञ्चालन गर्न सहज बनाउने काम भइरहेको छ । तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएलगत्तै स्तरोन्नति थालिने उहाँको भनाइ छ ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । चाडपर्व सुरु भएसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी तत्काल मर्मत थालिएको इञ्जिनियर पन्तले बताउनुभयो । सबैभन्दा बढी जलजला गाउँपालिकाका बासिन्दालाई समस्या परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयले प्रशासनमा मर्मतको माग गर्दै आएका थिए ।

तीस महिनामा काम सक्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चार वर्षमा ५५ प्रतिशत मात्र काम भएको छ । १३ किमी लामो सडकमध्ये गत असारमा पाँच किमी कालोपत्र गर्ने तयारी गरिए पनि वर्षा र निर्माण सामग्री अभाव देखाउँदै ठेकेदारले काम रोकेको थियो ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवका रुपमा रहेको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला–८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको इञ्जिनियर पन्तले जानकारी दिनुभयो ।

निर्माण कम्पनीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिटी, बालुवा र रोडा अभाव भएको भन्दै विसं २०७९ कात्तिकदेखि निर्माण रोकेको थियो ।

गत असोजमा म्याद सकिएको उक्त योजनाको यही असोज मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालनका साथै पैदल यात्रीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।

खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि जिल्ला प्रशासनमा पुगेर दबाब सिर्जना गरेपछि मर्मत सुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

आयोजना कार्यालयका अनुसार सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । मालढुङ्गाबाट फर्सेसम्मको पाँच किमी दूरिमा कालोपत्र गर्न सबबेस बिछ्याइएको आयोजनाका इञ्जिनियर पन्तले बताउनुभयो । विभिन्न ठाउँमा करिब एक किमी ढलान र खोल्सामा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्ड फराकिलो बनाउने, नाली र पर्खाल निर्माण तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै