काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र आज (शुक्रबार) मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।
सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।
सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाह भने चल्न पाउने तीनवटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई जोर बिजोर प्रणाली लागू हुनेछैन ।
यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, बित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुँदैन ।
यसैगरी सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कुटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुँदैन ।












