काठमाडाैंः वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७९ प्रतिशत रहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनाको आर्थिक तथा वित्तीय विवरणको स्थिति सार्वजनिक गर्दै यस अवधिमा आयात १२.७ प्रतिशतले घटेको तथा निर्यात १४.३ प्रतिशतले बढेको जनाएको छ ।
यस बीचमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले (रु.२ खर्ब ५८ अर्ब ८६ करोड) र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको (२ अर्ब १८ करोड अमेरिकी डलर) छ । त्यस्तै शोधनान्तर स्थिति रु.१ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको तथा कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।
बैंकले संघीय सरकारको खर्च रु.१ खर्ब ७६ अर्ब ९९ करोड र राजस्व परिचालन रु.१ खर्ब ७२ अर्ब ३६ करोड रहेको जनाउँदै विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ४.२ प्रतिशतले बढेको तथा वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.४ प्रतिशत रहेको बैंकको प्रतिबेदनमा उल्लेख छ ।











