• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली ★   पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति ★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे

काभ्रेमा १० हजार कन्या पुजिए



काभ्रेपलाञ्चोक: कृष्ण जन्माष्टमीको अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन् । बनेपामा मात्रै करिब सात हजार कन्या पुजिएका सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ ।

बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या–पूजा’ लाई हरेक वर्ष यही दिन पुज्दै आइएको छ । आज मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरू हुने गर्दछ । समितिका मूलकर्ता सुरकृष्ण बैद्यकानुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्ने गरिएको छ । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइ दिने प्रचलन रहँदै आएको छ ।

पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको नाला, जनागाल, पाँचखाल, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको छ । बनेपाबाहेकका स्थानमा करिब तीन हजार कन्यालाई पुजिएको बताइएको छ ।

बनेपाको पुरानो बजारमा विसं १९५९ देखि हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्या–पूजा गर्दै आइएको हो । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ ।

किंवदन्तीअनुसार रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्यालगायत मानव–कन्या भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरिन्छ । बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको जनाकारहरू बताउँछन् । कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिँदै आइएको छ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख पाएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।रासस