२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

चीनले विकास गरेको स्मार्ट सहर वुचन

चीनले विकास गरेको स्मार्ट सहर वुचन
अ अ+ अ-

संचारले विश्वलाई एउटा सानो गाउँमा परिणत गरेको छ। यो भनाइ हामीले बारम्बार सुन्दै आएका छौँ। बीसौँ शताब्दीको सबैभन्दा ठूलो क्रान्ति नै संचारको विकास भनिन्छ। बीसौँ शताब्दीको अन्तिमतिर विश्वमा इन्टरनेट छरिइसकेको थियो। अहिले त्यही इन्टरनेटले मान्छेका सबै आवश्यकताहरु पूरा गर्न थालेको छ। इन्टरनेटको सर्वसुलभ विकासले मान्छेलाई डिजिटल युगमा विचरण गराएको छ।

तपाईंले सोच्नु भएको छ यदि कुनै गाउँ,शहर,क्षेत्रलाई पूरै डिजिटल बनाएको सुन्नु भएको छ?नेपाली समाजमा त एउटा पूरै क्षेत्र नै डिजिटल भएको भन्दा कताकता अनौठो लाग्न सक्छ। किनभने राजधानी काठमाडौँमा पनि डिजिटल कार्य अत्यन्त नगन्य हुने गरेको छ। तर चीनले चच्याङ प्रान्तको वुचन सहरलाई पूरै डिजिटल बनाएको छ।

यो सहरमा पसलबाट सामान किन्दा किन्ने मान्छे मात्र उपस्थित हुन्छ। बेच्ने हुँदैन। होटलमा प्रवेश गरेपछि तपाईंको नाम दर्ता गर्ने मान्छे हुँदैन रोबटले गर्छ र कोठा देखाउने काम पनि रोबटले नै गर्छ। खाना दिने,औषधि दिने,प्राथमिकत उपचार गर्ने,बाटो देखाउने,शौचालयको ढोका खोल्ने,तपाईंलाई थकाइ लाग्यो भन्ने संकेत गर्ने सबै काम यात रोबटले गर्छ अथवा तपाईंको हातमा भएको मोबाइले क्युआर कोडलाई स्क्यान गरेपछि सबै त्यसैले गर्छ।

सुन्दा निकै ताजुब लाग्छ। कताकता बढाइचढाइ गरेजस्तो पनि लाग्छ अथवा हावा गफ जस्तो पनि लाग्छ। तर यी सबै कुरा सत्य हुन्। यी कुरा चीनको चच्याङ प्रान्तको वुचन सहरमा लागू भएका छन्। त्यसो भए कस्तो छ त वुचनको डिजिटल समाज?एकछिन यसका बारेमा चर्चा गरौँ।

चीनले वुचनलाई डिजिटल सहरको नमूना बनाएकाले यहाँ हरेक वर्ष विश्व इन्टरनेट सम्मेलन हुने गर्छ। गत नोभेम्बर २३ र २४ तारिख यही वुचन सहरमा विश्व इन्टरनेट सम्मेलन एवं विश्व इन्टरनेटको विकास मञ्चको आयोजना भएको छ। विश्व इन्टरनेट सम्मेलन वु चनमा स्थायी र नियमित रुपमा आयोजना हुने मुख्य कारण यो क्षेत्रको अनुपम र अद्वित्तीय चरित्र पनि हो। हजारौं वर्षको इतिहास भएको यो सानो क्षेत्रमा फनफनी घुमेको नदी सबैभन्दा ठूलो आकर्षणको केन्द्र बनेको छ। वुचनले गाउँको भावी विकासका लागि एउटा स्मार्ट नमूनाको परिचय बनाएको छ।

वु चनबाट बग्ने सिश नदीको लम्बाई २ किलोमिटर मात्र छ। तर यो नदीमाथि ७२ वटा ढुंगाका पूल छन्। वु चनका धेरै स्थानीयहरु यही नदीबाट वारपार गर्दै व्यापार गर्छन्। पर्यटकहरु डुंगामा चढेर वुचनको जल दृश्यको अवलोकन गर्छन्।

वु चनसँग १३ सय वर्ष भन्दा लामो इतिहास छ। पहिले सिश नदी सानो व्यापार गर्ने ठाउँ थियो। च्याङ नान क्षेत्रमा पहिले बाटो नहुँदा नदीबाट आवत-जावत गरिन्थ्यो। मानिसहरु डुंगा खियाएर खुद्रा व्यापार गर्न यहाँ झुम्मिन्थे।

पहिले पनि वुचनका पुराना सडकमा मूलाबाट बनाइएको रोटी र फूलबाट बनाइएको गुलियो केक खान पाइन्छ। यी परिकारको इतिहास पनि निकै पुरानो छ। परम्परागत निलो कपडा बनाउने प्रविधि र बाँसका हस्तकला यहाँ प्रसस्त देखिन्छ। हरेक पसलमा वीच्याट अथवा अलीपेको क्युआरकोड झुण्ड्याइएको हुन्छ। सामानको मूल्य तिर्नका लागि यी क्युआरकोड मोबाइलले स्क्यान गरेपछि पैसा तिरिन्छ।

वुचनको इतिहास धेरै पुरानो भएर पनि यही सहर अत्याधुनिक डिजिटल बनेको छ। यो नै यसको खास विशेषता पनि हो। किनभने अत्याधुनिक विकास भए पनि यसको पुरानौ मौलिक चरित्रलाई संरक्षण गरिएको छ। फलतः विश्व इन्टरनेट सम्मेलनको स्थायी आयोजक स्थल बन्ने वित्तिकै इन्टरनेट पानी जस्तै हजारौं वर्षको इतिहास भएको यस गाउँमा छताछुल्ल बगेको छ। वुचनमा फाइभ जीको संजालले सबै क्षेत्र समेटेको छ। हामी नेपालीका लागि फोरजी त कता हो कता तर यहाँ त सार्वजनिक स्थलमा पनि फाइजीको पहुँच सर्वसुलभ बनेको छ।

बीसौँ शताब्दीको ५० औँ दशकमा निर्मित वुचन जन पार्कमा चालु वर्ष फाइभजी प्लस स्मार्ट अन्तर्क्रिया पार्कमा परिणत भएको छ। फाइभजीको गतिशील सञ्जालको वातावरणमा एआई अर्थात आर्टिफिसियल इन्टलिजेन्टबाट धेरै काम गर्न सकिन्छ। एआईलाई हामी रोबट भन्दा सहज बुझ्न सक्छौँ। यस्ता रोबटले पर्यटकलाई पथ प्रदर्शकको रुपमा बाटो देखाउने गर्दछन्। पार्कमा नृत्य गर्ने महिलाहरुले साउण्ड बक्स ल्याउनुपर्दैन। नृत्य गर्ने चोकमा राखिएको पर्दामा प्रशस्त संगीतको भण्डारण गरिएको छ। त्यहाँ आफूले भनेजस्तो गीत छनोट गरेर नृत्य गर्न सकिन्छ।

जन पार्कमा रातो मण्डप आकारको स्मार्ट प्राथमिक उपचार केन्द्र निकै आकर्षक छ। चौबीस घण्टा चल्ने यो उपचार केन्द्रमा कुनै कर्मचारी हुँदैनन् तर पनि यसमा स्ट्रेचर, ह्विलचेयर, सेक्नका लागि बरफको झोला लगायत प्राथमिक उपचार सामग्री राखिएको छ। कसरत गर्ने व्यक्ति, बृद्ध-बृद्धाहरु र हिँड्न समस्या भएका पर्यटकहरुले यहाँ मोबाइलबाट क्युआर कोड स्क्यानिङ गरी निशुल्क चिकित्सा सेवा प्राप्त गर्न सक्छन्।

चिनियाँ नागरिकले आफ्नो शहरबासी कार्ड अथवा चिनियाँ राष्ट्रिय परिचयपत्रमार्फत चिकित्सा सेवा प्राप्त गर्न सक्छन्। उदाहरणका लागि तपाईंलाई एउटा हेण्डिप्लास्ट चाहिएमा विच्याटबाट स्क्यान गरेपछि त्यहाँ राखिएको उपकरणले एउटा हेण्डिप्लास्ट फुत्लुक्क निकालेर दिन्छ। तपाईंले निशुल्क रुपमा स्ट्रेचर, ह्विलचेयरको प्रयोग पनि गर्न सक्नुहुन्छ।

वुचनको फाइभ जी संचालन केन्द्रमा वुचनका विभिन्न तथ्याङ्कहरु पनि उपलब्ध हुन्छन्। उदाहरणका लागि वायु र जलको गुणस्तर, आउने जाने पर्यटकहरुको संख्या, बाटोमा कहाँ बढी पानी जमेको र कहाँ पानी खसाउने प्वालले काम नगरे जस्ता सूचनाहरु त्यहाँ जडान गरिएको ठूलो पर्दामा स्पष्ट देखिन्छ। त्यहाँका होटल र होमस्टेले मानिसको अनुहार स्क्यानिङ गरेर चेक इन गर्छन्।

वुचन जस्तो स्मार्ट सहर चीनमा अन्यन्त्र छैन। तर भविष्यमा चीनले यस्ता स्मार्ट सहर थुप्रै विकास गर्ने संभावना चाहिँ रहेको छ। अनि थप जानकारी पनि गराइहालौँ वुचन चच्याङ प्रान्तको हाङचौ सहर नजिकै पर्छ। हाङचौ अलिबाबाको हेडक्वाटर हो। तसर्थ स्मार्ट सिटीको अवधारणामा अलिबाबा र चिनियाँ मोबाइल कम्पनी ह्वाह्वे अग्र पङ्तिमा आउँछन्। अलिबाबाले नेपालको कुनै एक क्षेत्रलाई यस्तै डिजिटल स्मार्ट क्षेत्र बनाउने परियोजना प्रस्ताव नेपालसामु राखेको छ। आशा गरौँ नेपालको कुनै क्षेत्रले भविष्यमा वुचनको नक्कल गर्ला कि।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट