२ माघ २०८१, बुधबार
,
Latest
कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसँग मध्यराति १ बजेसम्म बयान, के भने रविले ?



अ+ अ-

काठमाडौं । सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग हिजो बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो ।

झन्डै १० घण्टा चलेको बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका थिए । लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।

समितिले सोधेका अधिकांश प्रश्नमा लामिछानेले ‘थाहा छैन, जानकारीमा छैन, मेरो भन्नु केही छैन, होइन, संलग्न छैन’ भन्ने जवाफ दिएका छन् । लामिछानले जवाफ दोहोर्‍याएपछि सदस्यहरूले दर्जनौं पुरक प्रश्न पनि सोधेका थिए ।

यसअघि बयानका लागि जेलबाट बोलाइएका अभियुक्तहरूले सहकारीहरूबाट गोर्खा मिडियामा रकम ल्याउँदा लामिछाने पनि संलग्न रहेको र उनको व्यक्तिगत खातामा पैसा आएको जानकारी बयान दिएका थिए । गोर्खा मिडिया सञ्चालक रहेका कुमार रम्तेल पुर्पक्षका लागि पोखरा जेलमा छन् । त्यस्तै सुप्रिम सहकारीबाट लामिछानेका तर्फबाट रकम जम्मा गरिदिने रोशनी गुरुङ र अर्का कर्मचारी भवीश्वर अर्यालले पनि सहकारी ठगीमा लामिछाने संलग्न रहेको बयान दिएका थिए ।

झन्डै ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दा लामिछाने प्रबन्ध निर्देशक थिए । समिति सभापति सूर्य थापाका अनुसार सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको छ । लामिछानेले आफैंले दिएको जवाफ फर्केर रुजु गर्न करिब दुई घण्टा लागेको थियो, नेपाली कागजमा उतारिएको बयानका हरेक पृष्ठमा लामिछानेको हस्ताक्षर र औंठा छाप पनि लिइएको छ ।

बयानका क्रममा लामिछानेले आफू गृहमन्त्री हुँदा जीबी राईलाई पक्राउ गरेर ल्याउने काममा धेरै नजिक पुगेको बताउँदै वर्तमान गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठाएका छन् । ‘जीबी राई पक्राउ हुनका लागि मलेसिया सरकारसँग संवाद अघि बढिरहेकै बेला म हट्नुपर्‍यो, अहिलेका गृहमन्त्रीले राईलाई किन पक्राउ गरेर ल्याउन सक्नुभएको छैन’ लामिछानेको प्रश्न थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई संसदीय समितिले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डरको मुख्य जिम्मेवारीमा रहेका हैसियतमा बयानमा बोलाएको थियो ।

समितिलाई सहकारीको बचत अपचलनमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको सिफारिस गर्नेसम्मको कार्यादेश प्राप्त छ । समितिले लामिछानेअघि गोर्खा मिडिया नेटवर्ककै संस्थापक तथा सञ्चालक छविलाल जोशीलाई सोधपुछका लागि बोलाएको थियो । उनले पनि इन्कारी बयान दिएका छन् ।