२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित



अ+ अ-

खोटाङ । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।

पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५/१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताउनुभयो । उहाँको खेतको सिरानदेखि पहिरो गएको छ ।

“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उहाँले भन्नुभयो, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।”

पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उहाँको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।  पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो ।

यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् । रासस