• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

खुम्बु क्षेत्रमा कसरी आयोग आकस्मिक बाढी ?



काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

खुम्बु क्षेत्रमा कसरी यति ठूलो बाढी आयो भन्ने अझै एकीन भएको छैन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ ।

बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल/हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ ।

“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमश: बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो”, महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।”

महाशाखाले यो अनुमान मात्र गरेको हो । आकस्मिक बाढी आउनुको खास कारण थाहा हुन सकेको छैन । वैज्ञानिकहरुले यसबारे अध्ययन थालिसकेका छन् ।

दिउँसो बाढी गएकाले ठूलो मानवीय भने हुन पाएन । बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ । एक जना बेपत्ता छन् । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए । त्यही कारण धेरै मानिस नहुँदा क्षति कम भएको हो ।

खोला थामेमा आएको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने ओर्लाङघाटको पुलको एउटा भाग भासिएको हो । प्रहरीका अनुसार अब मर्मत नगरी उक्त पुलमा गाडी चल्न सक्दैन । उक्त पुल दुवै गाउँपालिकाले संयुक्त लगानीमा मितेरी पुलका रूपमा निर्माण गरेका थिए । दूधकोशीको उच्च बहावले जोरसल्लेमा २ सय मिटरभन्दा बढी पैदलमार्ग बगाएको छ  ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसमले साथ दिए हाज काठमाडौंबाट एउटा हेलिकोप्टरसहितको टोली जोखिमयुक्त क्षेत्रमा जाने भएको छ । राहत सामग्री लिएर जाने उक्त टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अध्ययन गर्नेछ ।

रक्षामन्त्री मानबहादुर राई पनि आज हेलिकोप्टर लिएर प्रभावित क्षेत्रमा पुग्ने तयारीमा छन् । सोलुखुम्बु मन्त्री राईको गृहजिल्ला पनि हो ।