• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गर्नुभयो । आजभोली कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उहाँले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘गीत, संगीत, कला जे जे भनेपनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरीपरी घुम्न थालेको छ । गाली गरेपनि त्यसमा नै, नयाँ सृजना गरेपनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ । त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ ।

सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरुले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरुले फरक कुराहरु पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेको छु ।

सबभन्दा ठूलो कुरा भनेको हामीहरुले सही सूचना दिन सकिरहेका छैनौै । हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ–मैले अहिले १० मिनेट यहाँ बोलेभने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो दश सेकेन्डको मात्रै हुन्छ । त्यो दश सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन ।

तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ । जसले बजाएको छ, उसलाई आज मैले देखाईदिए भन्ने लाग्छ । तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ । यसकारण हामी एक अर्काका पीडित हौं । हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिईराखेको छ । यसबाट माथि उठ्नुपर्छ ।’

महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताउनु भयो ।