• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीसँग अमेरिकाका उप–विदेशमन्त्री रिचार्डको भेट



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।