४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवासमै पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्ताव



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् ।

शाक्यले बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव गरेकी हुन् ।

धर्मपत्नी शाक्यले गरेको प्रस्तावबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो– यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ ।’

प्रधानमन्त्री ओलीका अनुसार राधिकाले भनेकी छन्, ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्नुपर्छ ।’

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीले पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्ने बताएका छन् । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्याउने बताइएको छ ।