२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
अ अ+ अ-

मनाङ: “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भन्नुभयो ।

जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उहाँ बताउनुहुन्छ । “जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरुप पनि फेरिन थालिसक्यो”, उहाँ भन्नुहुन्छ । पहिले माटो र काठले बनेको घरहरु अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन् ।

पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ”, उहाँले भन्नुभयो, “हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।”

करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौैँरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो ।

पुराना घर संरक्षण गर्नुपर्ने हो । तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन् ।  पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।” गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उहाँले बताउनुभयो ।

पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे । तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्नुहुन्छ, “यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रुपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।” पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो ।

माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउनुहुन्छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।”

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उहाँ बताउनुहुन्छ । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरु छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्नुहुन्छ, “सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरुप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।”

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ । यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् । रासस